काठमाडौं, असार २८ — पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिमा पुनः सक्रियता सकारात्मक हुने टिप्पणी गरेका छन्।
शनिबार चीन भ्रमण सकेर स्वदेश फर्किएका खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै भण्डारीले वामपन्थी एकताको नेतृत्व लिने हो भने त्यसलाई समर्थन गर्नुपर्ने बताए।
खनालले अहिले नेपालको सबैभन्दा ठूलो वामपन्थी शक्ति नेकपा (एमाले) भएको उल्लेख गर्दै, सो पार्टीले नै वाम एकताको पहल नगरेका कारण वाम आन्दोलन विभाजित भएको बताएका छन्। “यदि एमाले चाहन्थ्यो भने आज वामपन्थीहरू एक ठाउँमा उभिन सक्थे,” उनले भने, “तर नेतृत्वकै कमजोरीले अहिले एकताको सम्भावना टुटेको देखिन्छ।”
विद्या भण्डारीले अहिलेको परिस्थिति बुझेकाे खनालको भनाइ छ। “यदि भण्डारीले वामपन्थी आन्दोलनको कमजोर स्थिति बुझेर सक्रिय राजनीतिमा फर्किन खोजेकी हुन् भने, त्यो प्रयास सकारात्मक मान्नुपर्छ,” उनले भने। उनले यसो गर्दै भण्डारी एमाले प्रवेश गरेर नेतृत्वदायी भूमिकामा आउन चाहन्छिन् भने त्यो वामपन्थी एकताको मार्ग खुलाउने विश्वास व्यक्त गरे।
खनालले अहिलेको समय वामपन्थी एकता अपरिहार्य भएको भन्दै विद्या भण्डारीको सम्भावित नेतृत्वलाई गम्भीरताका साथ लिने बेला आएको उल्लेख गरे। उनका अनुसार, वामपन्थीहरूबीचको दूरी हटाउन अब निर्णायक पहल आवश्यक भइसकेको छ।