राप्रपाबाट हटाइएपछि नवराज सुवेदीको निर्वाचन आयोगमा उजुरी


राप्रपाबाट हटाइएपछि नवराज सुवेदीको निर्वाचन आयोगमा उजुरी
  • नवकिरण
  • अषाढ २९, २०८२

काठमाडौँ, असार २९ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अनुशासन समितिको अध्यक्ष पदबाट हटाइएपछि वरिष्ठ नेता नवराज सुवेदी निर्वाचन आयोग पुगेका छन्। उनी आइतबार बिहान ११ बजे लट्ठीको सहारामा आयोग कार्यालय पुगेका हुन्।

राजसंस्था पुनर्स्थापनाका पक्षमा लामो समयदेखि सक्रिय ‘संयुक्त जनआन्दोलन समिति’का संयोजकसमेत रहेका सुवेदीले आफूलाई अन्यायपूर्वक पदबाट हटाइएको भन्दै उजुरी दर्ता गराएका हुन्।

अध्यक्ष राजेन्द्र लिङ्देनले रोशन कार्कीलाई अनुशासन समितिको नयाँ अध्यक्ष नियुक्त गरेपछि सुवेदीले असन्तुष्टि जनाउँदै कानुनी बाटो रोजेका हुन्। केही समयअघि उनले आन्दोलन परिचालन समितिको घोषणा हुँदासमेत राप्रपाको जिम्मेवारी छाडेको बताएका थिए। तर, पछिल्लो निर्णयप्रति असहमति जनाउँदै फेरि सक्रिय रूपमा मैदानमा उत्रिएका छन्।

सुवेदीको साथमा राप्रपाका महामन्त्री धवलशमशेर राणा लगायत इतर समूहका नेताहरू पनि आयोग पुगेका थिए। उनीहरूले सुवेदीप्रति भएको व्यवहारको विरोध जनाउँदै संगठनभित्रको विभाजन गहिरिँदै गएको संकेत दिएका छन्।

पार्टीभित्र बढ्दो असन्तुष्टि र आन्तरिक गुटबन्दीले राप्रपाको नेतृत्व अझै विवादमा परेको देखिएको छ। आगामी दिनमा यो विषयले थप राजनीतिक तरंग ल्याउने अनुमान गरिएको छ।