काठमाडौँ, असार ३१ – पूर्वराष्ट्रपति तथा नेकपा एमाले नेतृ विद्यादेवी भण्डारीले आफू आगामी भदौमा हुने एमालेको विधान महाधिवेशनमा सहभागी हुने/नहुने विषय पार्टीको केन्द्रीय कमिटीले निर्णय गर्ने स्पष्ट पारेकी छन्।
मंगलबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै भण्डारीले एमालेमा आफ्नो सक्रियता पार्टीको नीति, निर्णय र जिम्मेवारीमा आधारित हुने बताइन्। उनले असार १४ गतेको मन्तव्यमा पनि आफ्नो राजनीतिक भूमिकाबारे स्पष्ट धारणा सार्वजनिक गरिसकेको उल्लेख गरिन्।
“पार्टीमा म अब सदस्यता नवीकरण गरी पुनः जोडिएकी छु। कुन भूमिकामा रहने भन्ने कुरा केन्द्रीय तहको निर्णयमा निर्भर हुन्छ,” भण्डारीले भनिन्।
उनले महाधिवेशनमा आफ्नो उपस्थिति आमन्त्रित अतिथि, प्रतिनिधि, या अन्य कुनै रूपमा हुने भन्नेबारे अन्तिम निर्णय पार्टीले नै गर्ने बताइन्। “म कुन रूपमा सहभागी हुने ? त्यो पार्टीको निर्णयको कुरो हो,” उनले स्पष्ट पारिन्।
भण्डारीले मदन भण्डारी फाउन्डेसनको कार्यक्रममा बोल्दै पार्टीभित्र थुप्रै सक्षम र योग्य व्यक्तिहरू रहेको उल्लेख गर्दै पार्टीको संगठनात्मक विकास र जबज (जनताको बहुदलीय जनवाद) लाई अघि बढाउने काम जारी रहेको बताइन्।
उनको भनाइमा, “जिल्ला तथा जनसंगठनहरूको अधिवेशन भइसकेको छ, नयाँ नेतृत्व आएका छन्। त्यसले विधान महाधिवेशनमा कसरी प्रतिनिधित्व गर्ने भन्ने विषयमा पनि केन्द्रीय कमिटीले छलफल गरी टुंगो लगाउनेछ।”
अन्त्यमा उनले महाधिवेशनप्रति आफ्नो प्रतिबद्धता व्यक्त गर्दै पार्टीको सिद्धान्त, नीति र दर्शनअनुसार अघि बढ्न सबैलाई आग्रह गरिन्।