काठमाडौं, साउन ६ – नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले संघीय निजामति विधेयकमा उल्लेख गरिएको ‘कुलिङ पिरियड’ सम्बन्धी व्यवस्था अनिवार्य रूपमा लागू हुनुपर्नेमा जोड दिएका छन्। उनले यस विषयमा कांग्रेस कुनै पनि हालतमा सम्झौता गर्न नसक्ने स्पष्ट पारेका छन्।
बीपी कोइराला स्मृति दिवसको अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै महतले राज्य व्यवस्था तथा सुशासन समितिबाट सर्वसम्मत रूपमा प्रतिनिधिसभामा पठाइएको विधेयकमा दुई वर्षे कुलिङ पिरियडको व्यवस्था गरिएको भएपनि संसदले त्यसलाई हटाएर पारित गर्नु गलत भएको टिप्पणी गरे।
प्रतिनिधिसभाबाट हटाइएपछि अहिले उक्त विषयमा संसदीय छानबिन समिति गठन भई पुनः अध्ययन भइरहेको छ। यस्तै, राष्ट्रिय सभामा छलफलका क्रममा नेकपा एमालेका सांसदहरूले कुलिङ पिरियड हटाउन संशोधन प्रस्ताव दर्ता गराएका छन्।
तर, कांग्रेस यस विषयमा स्पष्ट अडानमा रहेको महतले बताए। “यो सर्वसम्मत सिफारिस भएको विषय हो। कांग्रेसले यसमा सम्झौता गर्दैन। कुलिङ पिरियड लागू हुनैपर्छ,” महतले भने।
त्यस्तै, भूमि विधेयकजस्ता महत्वपूर्ण विषयहरूमा सरकार एकलौटी निर्णय गर्न खोजिरहेको भन्दै उनले आपत्ति जनाए। गठबन्धन सरकारले सन्तुलन र सहमतिमा अघि बढ्नुपर्ने उनको जोड थियो।