काठमाडौं, साउन १३ – नेकपा (एमाले)ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा फर्कन नहुने स्पष्ट रुपमा जनाएको छ। पार्टीले जारी गरेको १२औं अन्तर पार्टी निर्देशन मार्फत भण्डारीको पार्टी सदस्यता नवीकरण प्रक्रिया नमिलेको र त्यसैले सदर नहुने निर्णय सुनाएको छ।
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरमा जारी गरिएको उक्त अपानीमा भनिएको छ, “पूर्वराष्ट्रपति राष्ट्रकै गहना हुन्। उहाँ सम्मानपूर्वक गणतन्त्रको प्रतीक भएर बस्नुपर्छ। उहाँलाई हामी कार्यकर्ता बनाउन सक्दैनौं, अध्यक्ष पनि कार्यकर्ता हो, त्यसैले उहाँ आउनुहुन्न।”
एमालेले नेपालको संविधानले राष्ट्रपतिको पदबाट अवकाश पाएपछि पनि दलीय राजनीतिमा सक्रिय हुने कुरा कल्पना नगरेको प्रष्ट पारेको छ। अपानीमा भनिएको छ, “राष्ट्राध्यक्ष जस्तो गरिमायुक्त पद सम्हालेको व्यक्तिले फेरि दलीय राजनीतिमा फर्किनु संविधानको मर्म विपरीत हुन्छ। यस्तो अवस्था आउँदा उहाँले राष्ट्रपतिको हैसियतमा गरेका कामहरूमाथि समेत प्रश्न उठ्न सक्छ।”
एमालेले लोकतान्त्रिक गणतन्त्रलाई एक राजनीतिक प्रणाली मात्र नभई संस्कृति र आचरणको विषय भएको उल्लेख गर्दै त्यसलाई बलियो बनाउन नेताहरूले संयमता देखाउनुपर्ने सुझाव दिएको छ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीका विगतका योगदानको कदर गर्दै एमालेले भनेको छ, “उहाँले महिला सशक्तीकरण, समावेशिता र राष्ट्रनिर्माणमा महत्वपूर्ण योगदान दिनुभएको छ। उहाँलाई एमालेले अघिल्लो वर्ष ‘गणतन्त्र गौरव’को रुपमा सम्मानसमेत गरेको थियो। तर त्यो सम्मानको रक्षा गरिनु आवश्यक छ, त्यसैले सक्रिय राजनीतिबाट अलग बसेर राष्ट्रको प्रतीक बन्नु नै उचित हुन्छ।”
पार्टीको विधानको धारा ८ अनुसार सदस्यता नवीकरण प्रक्रिया अघि बढ्ने भए पनि पूर्वराष्ट्रपतिले पुनः सक्रिय राजनीतिमा आउने इच्छा देखाएपछि पार्टीले त्यो प्रक्रिया सदर नगर्ने निर्णय लिएको हो।
एमालेको निष्कर्ष – “पूर्वराष्ट्रपतिले मुलुकको गरिमा, लोकतान्त्रिक मूल्य र संस्थाको निष्पक्षता जोगाउन सक्रिय राजनीतिमा फर्कनु हुँदैन। राष्ट्रको नेता भएको व्यक्तिले पार्टी सदस्य बन्ने बाटो रोज्दा उनको पहिलाको भूमिकामाथि समेत शंका उत्पन्न हुन सक्छ।”