बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताबीच छलफल


बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताबीच छलफल
  • नवकिरण
  • श्रावण १५, २०८२

काठमाडौं, साउन १५ – सत्तारूढ गठबन्धनका प्रमुख दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताबीच आज बालुवाटारमा महत्वपूर्ण भेटवार्ता भएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच वार्ता सुरु भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ।

भेटवार्तामा एमालेका उपाध्यक्ष तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, उपमहासचिव विष्णु रिमाल, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश लेखकसमेत सहभागी छन्।

उक्त छलफलमा समसामयिक राजनीतिक घटनाक्रमका साथै मन्त्रिपरिषद् पुनर्गठन मुख्य विषय बनेको स्रोतको भनाइ छ। नेकपा एमाले तत्काल मन्त्री फेरबदल गर्न चाहन्थ्यो तर कांग्रेसको ढिलासु प्रतिक्रिया र अनिच्छा देखिँदा प्रक्रिया अगाडि बढ्न नसकेको बताइएको छ।

सत्ता साझेदारीको सन्तुलन, मन्त्रालयको बाँडफाँट र आगामी रणनीतिक कदमहरूबारे समेत गहन छलफल भइरहेको जनाइएको छ। दुई ठूला दलबीच नियमित संवाद र सहकार्य आवश्यक रहेको सन्दर्भमा आजको भेटलाई महत्वका साथ हेरिएको छ।