काठमाडौं, असोज २ – डा. सीके राउत नेतृत्वको जनमत पार्टीभित्र देखिएको आन्तरिक विवाद गहिरिँदै गएको छ। अध्यक्षलाई २४ घण्टाभित्र पद छोड्न अल्टिमेटम दिएका ६ केन्द्रीय नेताले अन्ततः पार्टी नै परित्याग गरेका छन्।
बिहीबार साधारण सदस्यता समेत खारेज गर्दै पार्टी छाड्ने घोषणा गर्ने नेतामा उपाध्यक्ष अब्दुल खान, प्रवक्ता डा. शरदसिंह यादव, युवा संघका केन्द्रीय संयोजक सीके सिंह, सुदूरपश्चिम इञ्चार्ज राजाराम चौधरी र राष्ट्रिय परिषद सदस्य विक्रमबहादुर बम रहेका छन्।
नेता यादवले पार्टी छोडेपछि प्रतिक्रिया दिँदै भने, “हामी नयाँ पार्टी खोल्ने उद्देश्यले बाहिरिएका होइनौं, अध्यक्षलाई सहज होस् भन्ने सोचले यस्तो कदम उठाएका हौं।”
यसअघि अध्यक्ष राउतले सामाजिक सञ्जालमार्फत असन्तुष्ट नेताहरूलाई पार्टी छोड्न अब उचित समय भएको टिप्पणी गरेका थिए।
यस घटनासँगै जनमत पार्टीको आन्तरिक राजनीतिक समीकरण नयाँ मोडतर्फ गएको विश्लेषण गरिएको छ।