ओलीको चेतावनी : ‘एमाले सधैंका लागि सरकारबाट हट्यो भन्ने भ्रममा नपर्नु’


ओलीको चेतावनी : ‘एमाले सधैंका लागि सरकारबाट हट्यो भन्ने भ्रममा नपर्नु’
  • नवकिरण
  • आश्विन २९, २०८२

काठमाडौं, असोज २९ – नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमाले सधैंका लागि सरकारबाट बाहिरिएको भन्ने भ्रममा नपर्न नेताहरूलाई सचेत गराएका छन्। बुधबार राजधानीमा बसेको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्।

ओलीले एमालेले सरकारमा रहँदा जनताको हितका काम गरेको र त्यसकै कारण पार्टी निशानामा परेको दाबी गरे। उनले भने, “हामीले देशको हितमा काम गरेका हौं, त्यसैले एमालेलाई कमजोर पार्ने प्रयास हुँदै आएको छ।”

उनका अनुसार संविधान जारी भएको समयदेखि नै एमालेलाई सरकारमा आउन नदिने षड्यन्त्रहरू भइरहेका छन्। “कसैलाई मान्छे मन नपर्नु, कसैलाई पार्टी मन नपर्नु बेग्लै कुरा हो, तर देशका लागि एमाले अपरिहार्य छ,” उनले जोड दिए।

ओलीले आफ्नै पार्टीभित्रका केही नेताबाट पनि अतीतमा सरकारविरुद्ध असन्तुष्टि देखिएको उल्लेख गर्दै पार्टीभित्र एकता र अनुशासन आवश्यक रहेको बताए।

उनले सबै केन्द्रीय सदस्यहरूलाई खुलेर बोल्न, नेतृत्वले सुझाव सुन्न र प्रतिशोधको राजनीति नगर्न आग्रह पनि गरे।

एमालेको दसौं केन्द्रीय कमिटी बैठक अहिले काठमाडौंमा जारी छ, जसमा वर्तमान राजनीतिक अवस्थाबारे समसामयिक प्रस्ताव तयारीको प्रक्रिया भइरहेको छ।