काठमाडौं, कार्तिक २४ – रास्वपाले समानुपातिक उम्मेदवार छनोटका लागि नयाँ मापदण्ड सार्वजनिक गरेको छ। फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर पार्टीले उम्मेदवार आह्वान प्रक्रिया सुरु गरेको हो। चितवन सौराहामा सम्पन्न विस्तारित बैठकले सहमहामन्त्री विपिनकुमार आचार्यले पेश गरेको रूपरेखामा आधारित भएर प्रक्रिया अघि बढाइएको पार्टीले जानकारी दिएको छ।
पार्टीका अनुसार उम्मेदवार छनोटका मापदण्ड स्पष्ट, मापनयोग्य र वैज्ञानिक हुनेछन्। प्रत्येक सूचकलाई अंकभार दिइनेछ र प्राप्ताङ्कको समष्टिका आधारमा उम्मेदवार चयन हुनेछ। क्लब, लिडरसिप एकेडेमी, राजनीतिक निकटता, समावेशिता र प्रारम्भिक निर्वाचनलाई अनिवार्य आधार मानिएको छ।
उम्मेदवार बन्न इच्छुक पार्टी सदस्यले अनलाइन वा अफलाइन माध्यमबाट ‘उम्मेदवार क्लब’ का लागि आवेदन दिनुपर्नेछ। आवेदन शुल्क ५० हजार तोकिएको छ। तर शुल्क तिर्न नसकिने उचित कारण पेश गरेमा निशुल्क सुविधा पनि उपलब्ध हुने पार्टीले स्पष्ट भएको छ।
पार्टीले उम्मेदवारका लागि संविधान, कानुन र विधानअनुसारको योग्यता अनिवार्य रुपमा पूर्ण गर्नुपर्ने व्यवस्था राखेको छ। यस्तै सार्वजनिक पदको दुरुपयोग नगरिएको, प्रमाणपत्र वैध रहेको, घृणात्मक अभिव्यक्ति वा शोषणमा नलागेको लगायतका विषयमा स्वघोषणा गर्नुपर्नेछ।
प्रारम्भिक निर्वाचन प्रक्रियामा पारदर्शिता मूल्यांकन गर्न विशेष अडिट समिति गठन गरिने भएको छ। २०७९ को समानुपातिक मतका आधारमा जनसांख्यिक प्रादेशिक अनुपात मिलाइ ११० जनाको बन्दसूची तयार गर्ने निर्णय पनि छ। ४० वर्षमुनिका युवाका लागि २७ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरिएको छ भने विदेशबाट फर्केकाका लागि १० प्रतिशत कोटा राखिएको छ।
२०७९ मा समानुपातिकतर्फबाट सांसद बनेका सदस्यलाई पुनः समानुपातिक उम्मेदवार बन्न नपाउने व्यवस्था गरिएको छ। पार्टीको विधानअनुसार सम्पत्ति विवरण, प्रहरी रिपोर्ट र पार्टी मूल्य–मान्यताप्रतिको प्रतिबद्धता अनिवार्य मानिनेछ।
यसबाहेक एउटा निर्वाचन चक्रमा प्रतिनिधिसभा सदस्यका लागि छनोटमा सहभागी भएकाले त्यही चक्रको स्थानीय तहका लागि भने पुनः उम्मेदवार छनोटमा सहभागी हुन नपाउने व्यवस्था गरिएको छ।
