काठमाडौं, मंसिर २ – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) निर्वाचन आयोगमा आधिकारिक रूपमा दर्ता भएको छ। आयोगले सोमबार दल दर्ताको प्रमाणपत्र प्रदान गर्दै पार्टीलाई ‘गुलाब’ चुनाव चिन्ह तोकेको छ।
प्रमाणपत्र प्राप्त गरेपछि पत्रकारहरूसँग कुरा गर्दै विप्लवले आफ्नो पार्टीले “नयाँ अठोट, नयाँ विश्वास र नयाँ अभियान” का साथ चुनावी प्रक्रियामा प्रवेश गरेको बताए। अब देशभर संगठन विस्तार र जनसम्पर्कका कार्यक्रम सुरु हुने उनले जानकारी दिए।
“दल दर्तासँगै नयाँ अभियानको सुरुवात भयो,” विप्लवले भने, “भोलिदेखि नै हामी देशव्यापी अभियानमा अघि बढ्छौं। पार्टी संगठन र नेपाली श्रमिक जनतामा विशेष अपिल गर्दै नयाँ उर्जासहित अघि बढ्नेछौं।”
जनताकै हातमा परिवर्तनको शक्ति भएको उल्लेख गर्दै उनले भने, “आज पनि इतिहास जनताले बनाउँछन्, भोलि पनि जनताकै भरोसा रहनेछ। जनताले परिवर्तनको सम्भावना जहाँ देख्छन्, हामी त्यही मार्गमा तयार छौं।”
चुनाव हुने/नहुने प्रश्नमा विप्लवले स्पष्ट रुपमा उत्तर दिए – “चुनाव एकदिन त हुन्छ नै। समाजवाद आयो भने पनि जनताले नेतृत्व चयन गर्ने प्रक्रिया रहन्छ।”
उनका अनुसार, यदि राष्ट्रिय सर्वपक्षीय अन्तरिम सरकार गठन भए सबै दललाई साथ लिएर नयाँ राजनीतिक व्यवस्थाको बाटो बनाउने सम्भावना पनि रहेको छ।
