महाधिवेशनअघि ओलीको शक्ति प्रदर्शन : ‘सूचीमै मत हाल्नुस्’


महाधिवेशनअघि ओलीको शक्ति प्रदर्शन : ‘सूचीमै मत हाल्नुस्’
  • नवकिरण
  • मंसिर १७, २०८२

काठमाडौँ, मंसिर १७ – नेकपा एमालेको आगामी महाधिवेशन नजिकिँदै गर्दा अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवार छनोटमा फेरि पनि सूची-केन्द्रित नेतृत्व मोडल लागू गर्ने संकेत दिएका छन्।

भक्पुरको गुन्डुस्थित आफ्नै नयाँ निवासमा केन्द्रीय सदस्यलाई भेट्दै ओलीले पदाधिकारी तथा समितिहरूको संरचना आफूले बनाउने र प्रतिनिधिहरूले त्यही सूचीको पक्षमा मतदान गर्नुपर्ने बताएका हुन्।

बैठकमा सहभागी एक नेताको भनाइ अनुसार, ओलीले सबै पक्षको भावना समेटिने सूची तयार पारिने आश्वासन दिए पनि कसलाई कसरी समावेश गरिने विषय स्पष्ट गरेनन्। “एकै ठाउँबाट मत जाओस्, कुनै व्यक्ति मात्रलाई मत नदिनू,” ओलीको भनाइ उद्धृत गर्दै नेताले बताए।

महाधिवेशनमा ओली अध्यक्षका लागि दौडमा रहने स्पष्ट संकेत गरिसकेका छन् भने वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले औपचारिक चुनौती दिन तयारी गरिरहेका छन्। महासचिव पदमा शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवाली आकांक्षी बनेका छन्।

यता, ओखलढुंगा, दाङ र सल्यानलगायत जिल्लामा प्रतिनिधि चयन विवादले संगठनभित्र असन्तोष बढाएको छ। केही प्रदेशमा ओलीविरुद्ध र पोखरेल समूह पक्षमा ध्रुवीकरण देखिँदै गर्दा मत विभाजन रोक्न सूची प्रणाली ओलीको मुख्य रणनीति हुन सक्ने नेताहरूको बुझाइ छ।