एमाले महाधिवेशन : उद्घाटनमा १० हजार स्वयंसेवक खटिने


एमाले महाधिवेशन : उद्घाटनमा १० हजार स्वयंसेवक खटिने
  • नवकिरण
  • मंसिर १८, २०८२

काठमाडौँ, मंसिर १८ – नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आफ्नो ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रममा झन्डै १० हजार स्वयंसेवक खटाउने तयारी गरेको छ। आगामी मङ्सिर २७ गते भक्तपुरको सल्लाघारी खुल्लाचौरमा हुने उद्घाटनसत्रमा ठूलो भीड आउने आकांकलगत्तै यस्तो व्यवस्था मिलाइएको हो। बन्दसत्र भने काठमाडौँस्थित भृकुटीमण्डपमा हुनेछ।

स्वयंसेवक परिचालन समितिका संयोजक भानुभक्त ढकालका अनुसार खुल्लासत्रमा सहभागी हुने जनसङ्ख्या उल्लेख्य हुने भएकाले १० हजार स्वयंसेवक परिचालन गर्ने निर्णय भएको हो। बन्दसत्रमा करिब ५०० स्वयंसेवक मात्र रहनेछन्। ती स्वयंसेवकहरू एमालेका २४ वटा जनसङ्गठन तथा विभिन्न कमिटीबाट समायोजन गरिने ढकालले बताए। हालै गठन गरिएको एमालेको राष्ट्रिय स्वयंसेवक फोर्स (एनभीएफ)ले पनि व्यवस्थापनमा सहयोग गर्नेछ।

यसैबीच, उपमहासचिव तथा जनपरिचालन समितिका संयोजक प्रदीपकुमार ज्ञवालीको नेतृत्वमा बुधबार सल्लाघारीस्थित नेपाल ट्रष्टको १०८ रोपनी क्षेत्रमा फैलिएको खुल्लाचौरको अवलोकन गरिएको छ। अवलोकन टोलीमा प्रचार प्रमुख राजेन्द्र गौतम, केन्द्रीय सदस्य विनोद श्रेष्ठ, भक्तपुर जिल्ला अध्यक्ष वचन देउजा, बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा लगायत समावेश थिए।

संयोजक ढकालका अनुसार सो चौरमा करिब दुई लाख जनासम्मको उपस्थिति व्यवस्थापन गर्न सकिने अनुमान छ। मञ्च निर्माणदेखि शौचालय सुविधा र अन्य पूर्वाधारको निर्माणका लागि स्वयंसेवकहरू परिचालन भइरहेका छन्।

उद्घाटन समारोहका दिन पूर्वतर्फबाट आउने सवारीसाधनलाई जगातीस्थित इँटा तथा टायल कारखानामा राख्ने र पश्चिमबाट आउने सवारीलाई गठ्ठाघर–कमेरोटार क्षेत्रमा व्यवस्थापन गरिने तयारी भएको छ।

महाधिवेशनमा आयोजक तथा निर्वाचित प्रतिनिधिलगायत गरी करिब दुई हजार ४०० प्रतिनिधि सहभागी हुनेछन्। महाधिवेशन मङ्सिर २७ देखि २९ गतेसम्म सञ्चालन हुनेछ।