अध्यक्ष कसले सम्हाल्ने ? एमालेभित्र ओली–पोखरेलबीच कडा प्रतिस्पर्धा


अध्यक्ष कसले सम्हाल्ने ? एमालेभित्र ओली–पोखरेलबीच कडा प्रतिस्पर्धा
  • नवकिरण
  • मंसिर १८, २०८२

काठमाडाै‌ँ, मंसिर १८ – नेकपा एमालेको एघारौँ महाधिवेशन नजिकिएसँगै पार्टीभित्र नेतृत्वबारेको चर्चा तीव्र बनेको छ। प्रतिनिधि छनोट सम्पन्न भएपछि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने लगभग पक्का भएको छ।

दुवै पक्षले डिजिटल प्रचारलाई तीव्र बनाएका छन्। ओली समूहले ‘फेरि एक पटक ओली’ नारा चलाएको छ भने पोखरेल पक्षले दिवंगत नेता मदन भण्डारीको तस्वीर प्रयोग गर्दै ‘सन्तुलित नेतृत्व’को नारा अघि सारेको छ।

पोखरेल पक्षले ओली समूहको प्यानल सार्वजनिक भएपछि मात्रै आफ्नो टिम घोषणा गर्ने रणनीति बनाएको छ। ओलीलाई भेट्न गुण्डु पुगेका नेताहरूले ८०–८५ प्रतिशत प्रतिनिधि उनीकै पक्षमा रहेको दाबी सुनेको बताएका छन्।

नेता व्यवस्थापन चुनौतीपूर्ण हुने भएकाले ओली पक्ष विधान संशोधनको प्रस्ताव लैजाने तयारीमा छ। सचिवालय बैठकमार्फत प्रस्ताव पेस गरी महाधिवेशनपछि अध्यक्षमण्डल घोषणा गर्ने योजना अध्यक्ष ओली पक्षले बनाएको बुझिएको छ।