काठमाडौं, मंसिर २३ – नेकपा एमालेले आगामी ११औं महाधिवेशनको उद्घाटन सत्रमा सहभागी गराउन १६ वटा राजनीतिक दल तथा विदेशी नियोगहरूलाई औपचारिक रूपमा निमन्त्रणा पठाएको छ। अतिथि सत्कार समितिले तय गरेको सूचीअनुसार प्रमुख दलका शीर्ष नेताहरूलाई आमन्त्रण गरिएको हो।
अतिथि सत्कार समितिकी सदस्य सुनिता बरालका अनुसार नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), मजदुर किसान पार्टी (नेमकिपा) लगायतका दलहरूलाई उद्घाटन सत्रमा सहभागी हुन निम्तो पठाइएको छ।
एमालेले नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र रास्वपाका कार्यवाहक सभापति डिपी अर्याललाई समेत आधिकारिक रूपमा आमन्त्रण गरेको छ।
यसबाहेक निमन्त्रणा प्राप्त गर्ने अन्य दलहरूमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनता समाजवादी पार्टी (जसपा), जसपा नेपाल, राप्रपा, राप्रपा नेपाल, राष्ट्रिय जनमोर्चा, जनमत पार्टी, परिवार दल, नेकपा माले, नेपाल कम्युनिस्ट पार्टी (माओवादी), नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी, नागरिक उन्मुक्ति पार्टी समावेश छन्।
महाधिवेशन अघि विभिन्न उपसमिति र व्यवस्थापन संरचनाहरू सक्रिय रुपमा काम गरिरहेका छन्। मञ्च व्यवस्थापन, अतिथि सत्कार, आवास, स्वयंसेवक संयोजनदेखि प्रचारसम्बन्धी सबै तयारी अन्तिम चरणमा पुगेका छन्। महाधिवेशनको विशेष लोगो र जिंगल पनि सार्वजनिक गरिएको छ।
बरालका अनुसार, देशका राष्ट्रिय दलहरू तथा विशेषगरी कम्युनिस्ट मूलका दलहरूलाई प्राथमिकताका साथ निमन्त्रणा पठाइएको हो। विदेशमा रहेका व्यक्तित्वहरूलाई भौतिक भेट असम्भव भएका कारण शुभकामना सन्देशमार्फत सहभागिताको अनुरोध गरिएको छ।
नेपालस्थित विभिन्न विदेशी दूतावास तथा नियोगहरूलाई पनि निमन्त्रणा पठाइसकिएको र सम्भव भएसम्म उद्घाटन समारोहमा उपस्थित हुन अनुरोध गरिएको अतिथि सत्कार समितिले जनाएको छ।
एमाले महाधिवेशनसम्बन्धी कूटनीतिक तथा राजनीतिक तयारीहरू सँगसँगै तीव्र गतिमा अघि बढिरहेका छन्।
