रास्वपामा केन्द्रीय समिति बैठकबारे आन्तरिक छलफल, रविलाई आज स्वागत गरिँदै


रास्वपामा केन्द्रीय समिति बैठकबारे आन्तरिक छलफल, रविलाई आज स्वागत गरिँदै
  • नवकिरण
  • पौष ६, २०८२

काठमाडौं, पुस ६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक बोलाउने विषयमा आन्तरिक छलफल थालेको छ। सहकारी ठगी प्रकरणमा धरौटीमा रिहा भएका सभापति रवि लामिछाने सार्वजनिक गतिविधिमा फर्किएसँगै पार्टीभित्र बैठकबारे गृहकार्य सुरु भएको हो।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासको आदेशअनुसार धरौटीमा रिहा भएका लामिछाने शुक्रबार चितवनमा समर्थक र शुभेच्छुकलाई सम्बोधन गरी काठमाडौं फर्किएका छन्। उनलाई आज दिउँसो ३ बजे पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा स्वागत गर्ने कार्यक्रम तय गरिएको छ।

कार्यवाहक सभापति डोलप्रसाद अर्यालका अनुसार केन्द्रीय समिति बैठक बोलाउने विषयमा हालसम्म अन्तिम निर्णय भएको छैन। बैठकबारे महामन्त्रीसँग छलफल भइरहेको र निर्णय भएमा औपचारिक जानकारी गराइने उनले बताए।