काठमाडौं, माघ ८ – नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनमा धितो र जमानी नभएका उम्मेदवारलाई मतदान गर्दा मत खेर जाने दाबी गरेका छन्। झापामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले मतदातालाई सचेत भएर मतदान गर्न आग्रह गरेका हुन्।
अध्यक्ष ओलीले बैंकले धितो र जमानीबिना नोट नछाप्ने उदाहरण दिँदै भोट हाल्दा पनि भरपर्दो र जिम्मेवार उम्मेदवार छनोट गर्नुपर्ने बताए। २०६४ सालमा नचिनेका उम्मेदवारलाई भोट दिँदा देश विकासमा पछि परेको स्मरण गराउँदै उनले मतदातालाई पुनः त्यस्तै गल्ती नगर्न आग्रह गरे।
उनले महोत्तरीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहको घरअगाडि सडक र पुल निर्माण गरिदिएको उल्लेख गर्दै झापाका लागि साहले के योगदान दिएको छ भन्ने प्रश्न पनि उठाए।
काठमाडौंमा सुकुम्वासी बस्ती हटाइएका घटनापछि झापाका सुकुम्वासीहरूमा पनि त्यस्तै अवस्था दोहोरिने डर पैदा भएको गुनासो आफूले सुनेको ओलीले बताए। उनले प्रत्येक निर्वाचन क्षेत्रमा बाहिरबाट आएका ‘पर्यटक उम्मेदवार’ भन्दा स्थानीय उम्मेदवारलाई जिताउनुपर्नेमा जोड दिए।
अध्यक्ष ओलीले नेकपा एमाले सत्ताका लागि मात्रै नभइ देश जोगाउन, शान्ति सुव्यवस्था कायम गर्न र संविधानलाई सही दिशामा अघि बढाउन संघर्षरत रहेको दाबी गरे।
उनले बालेन्द्र साह उम्मेदवार बनेकै कारण देशलाई कुनै असर नपर्ने उल्लेख गर्दै सामाजिक सञ्जालमार्फत फैलाइने भ्रम र गलत सूचनाबाट मुक्त हुन पनि मतदातालाई आग्रह गरे।
