इन्टरनेट र कागजका तथ्यले मात्र भूगोल बुझिँदैन : बालेन शाह


इन्टरनेट र कागजका तथ्यले मात्र भूगोल बुझिँदैन : बालेन शाह
  • नवकिरण
  • माघ १०, २०८२

तेह्रथुम, माघ १० – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा झापा–५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बालेन शाहले कुनै पनि स्थानलाई कागजी विवरण वा इन्टरनेटका सूचनामै सीमित गरेर बुझ्न नसकिने बताएका छन्।

पूर्वी नेपाल केन्द्रित चुनावी अभियानका क्रममा तेह्रथुम पुगेका शाहले म्याङ्लुङस्थित देवीथान क्षेत्रमा स्थानीय मतदातासँग संवाद गर्दै भूगोल, हावापानी र जनजीवनलाई प्रत्यक्ष रूपमा अनुभूत गरेपछि मात्रै वास्तविक समस्या पहिचान गर्न सकिने बताए।

‘कुनै ठाउँको नाम किताबमा पढ्न वा विकिपिडियामा खोज्न सकिन्छ,’ शाहले भने, ‘तर त्यहाँको माटोमा बसेर, मानिसहरूसँग प्रत्यक्ष कुरा गरेपछि मात्रै त्यो ठाउँको वास्तविक अवस्था बुझिन्छ। संसदमा कुरा उठाउँदा अनुमान होइन, अनुभव बोल्नुपर्छ।’

इन्जिनियरिङ पृष्ठभूमिबाट राजनीतिमा आएका शाहले ठूला र व्यवहारमा लागू नहुने योजनाभन्दा स्थानीय तहबाटै सुरु गर्न सकिने व्यावहारिक काममा ध्यान दिनुपर्ने धारणा राखे।

उनले तेह्रथुमको कृषि उत्पादन क्षमता प्रशंसनीय रहेको उल्लेख गर्दै उत्पादन भए पनि बजार व्यवस्थापन कमजोर हुनु यहाँको प्रमुख समस्या भएको बताए।

कार्यक्रममा रास्वपा तेह्रथुमका उम्मेदवार सुरेन्द्र कार्कीको पनि उपस्थिति रहेको थियो। स्थानीय तहमा भएका छलफल र प्राप्त सुझावलाई आगामी नीति तथा योजनामा समेट्ने उद्देश्यसहित आफूहरू जिल्ला–जिल्लामा पुगेको शाहले बताए।

झापा–५ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका शाह इलाम, ताप्लेजुङ र पाँचथर हुँदै तेह्रथुम आइपुगेका हुन्।