काठमाडौं, माघ २१ – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सञ्जालमा हुने गतिविधिले मात्र निर्वाचनको परिणाम निर्धारण नहुने बताएका छन् । स्वच्छ, निष्पक्ष र धाँधलिरहित वातावरणमा निर्वाचन भए नेकपा पहिलो दल बन्ने दाबीसमेत उनले गरेका छन् ।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै संयोजक दाहालले सामाजिक सञ्जालमा हुने हल्ला र प्रचारले जनताको वास्तविक मत बदल्न नसक्ने उल्लेख गरे । उनले सामाजिक सञ्जालमा हुने ‘हाहा’ र ‘हुहु’ले चुनाव जितिँदैन भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित टिप्पणी पनि गरे ।
दाहालले भ्रष्टाचारविरुद्ध उभिने, सुशासन कायम गर्ने र देशको आर्थिक विकासलाई अगाडि बढाउने नेतृत्व र पार्टीलाई नेपाली जनताले चिन्न थालिसकेको दाबी गरे । उनले राष्ट्रलाई एकताबद्ध गर्दै अघि बढ्न सक्ने शक्ति नै जनताको रोजाइ बन्ने बताए ।
संयोजक दाहालले आगामी निर्वाचन फागुन २१ गते नै हुने स्पष्ट पार्दै निर्वाचनको मितिबारे कुनै पनि प्रकारको शंका नगर्न आग्रहसमेत गरे ।
