बागलुङ, माघ २९ – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान निर्वाचनलाई राष्ट्र रक्षा र स्वाधीनता सुनिश्चित गर्ने अवसरका रूपमा लिनुपर्ने बताएका छन्।
बागलुङ बुर्तिबाङमा जनता, मतदाता र पार्टीका नेताहरूसँगको संवादमा प्रचण्डले भने कि राजनीतिक दल र जनता २०८४ सालमा मात्र निर्वाचन चाहन्थे, तर वर्तमान परिस्थितिले बाध्यतामा पुर्याएर चुनाव भएको हो।
भदौ २३ र २४ गतेका घटनाले देशमा भयावह अवस्था सिर्जना गरेको भन्दै उनले त्यसबेला आफू र सहसंयोजक माधव नेपालले विवेकपूर्ण पहलमार्फत संकट टार्न सफल भएको बताए। उनले भने, “२४ गतेको घटनाको उद्देश्य केवल जलाउने, लुट्ने मात्र थिएन, राष्ट्रपति हटाएर देशमा कठपुतली सरकार बनाउने योजना पनि थियो।”
उनले थपे, संविधान केही हदसम्म प्रभावित भए पनि त्यसको रक्षा गर्ने जिम्मेवारी अब राष्ट्रवादी शक्तिको काँधमा आएको छ। प्रचण्डले यो निर्वाचन सामान्य प्रतिस्पर्धा नभई विदेशी शक्तिका इच्छाअनुसार देशलाई अस्थिर बनाउने प्रयास र राष्ट्रवादी शक्ति बलियो बनाउनको लागि भएको संघर्ष भएको बताए।
विश्व राजनीति नयाँ चरणमा प्रवेश गरिसकेको उल्लेख गर्दै उनले नेपालजस्तो सानो देश पनि ठूला शक्तिको प्रतिस्पर्धामा दुरुपयोग हुन सक्ने खतरा औँल्याए। प्रचण्डले युक्रेन र भेनेजुएलाका घटनाका उदाहरण दिँदै विदेशी हस्तक्षेपको जोखिमप्रति सचेत रहन सबैलाई आग्रह गरे।
उनको चेतावनी थियो, “साँढेको जुधाई, बाच्छाको मिचाई नहोस् भन्ने चिन्ता हामीमा छ।”
