रुकुम पूर्व, फागुन २ – पुष्पकमल दाहाल शनिबार रुकुम पूर्वको चुनवाङ पुग्दा वातावरण भावुक बनेको छ। चुनावी अभियानका क्रममा पुगेका उनले माओवादी आन्दोलनसँग जोडिएको ऐतिहासिक स्थल अवलोकन गरेका हुन्।
२०६२ असोजमा यही चुनवाङमा बसेको केन्द्रीय समिति बैठकले सशस्त्र संघर्षबाट शान्तिपूर्ण राजनीतितर्फ जाने निर्णय गरेको थियो। उक्त बैठकलाई राजतन्त्र अन्त्य र लोकतान्त्रिक गणतन्त्र स्थापनाको महत्वपूर्ण मोडका रूपमा लिइन्छ।
चुनवाङ पुगेका प्रचण्डले आफू र स्वर्गीय पत्नी सीता दाहाल बसेको कोठा अवलोकन गरे। साथै, स्वर्गीय छोरा प्रकाश दाहाल बसेको घरमा पनि पुगे।
परिवार र संघर्षकालका दिनहरू सम्झिँदा उनी भावुक देखिएका थिए। केहीबेर मौन बसेका उनले आँसु पुछ्दै सहकर्मी र स्थानीयसँग कुराकानी गरेका थिए।
प्रचण्ड फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुकुम पूर्वबाट उम्मेदवार छन्। मतदाता भेटघाटका क्रममा उनले रुकुमलाई ‘क्रान्तिको जननी र शान्तिको आधारभूमि’का रूपमा उल्लेख गरेका छन्।
