प्रतिनिधि सभा निर्वाचन अघि रास्वपाको पाँच बुँदे एजेन्डा


प्रतिनिधि सभा निर्वाचन अघि रास्वपाको पाँच बुँदे एजेन्डा
  • नवकिरण
  • फागुन ३, २०८२

काठमाडौँ, फागुन ३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) ले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदातासँग पाँच बुँदे नागरिक करार गर्ने तयारी गरेको छ। आइतबार पार्टी सभापति रवि लामिछानेले सार्वजनिक गरेको करारमा लोकतान्त्रिक अधिकारको संरक्षण र सुशासनका पक्षमा प्रतिबद्धता जनाइएको छ।

करारअनुसार, रास्वपाले बहुलवादी सङ्घीय लोकतान्त्रिक गणतन्त्र, सामाजिक न्यायमा आधारित उदार अर्थनीति, सुधारिएको प्रदेश संरचना र समावेशी शासन प्रणालीको विकासमा काम गर्ने प्रतिवद्धता व्यक्त गरेको छ। साथै सनातन सभ्यताको सम्मान, धार्मिक–सांस्कृतिक विविधताको संरक्षण र सन्तुलित परराष्ट्र सम्बन्ध कायम गर्ने विषयलाई प्राथमिकता दिइएको छ।

रास्वपाले प्रवास, डायस्पोराको सामर्थ्य उपयोग र “सौम्य शक्ति” विस्तारमार्फत देशको सार्वभौमिकता, स्वाधीनता, भौगोलिक अखण्डता र स्वाभिमानलाई कायम राख्ने योजना सार्वजनिक गरेको छ। करारले आगामी पाँच वर्षभित्र यसबापतको परिणाम प्रदान गर्ने प्रतिबद्धता पनि समावेश गरेको छ।

सभापति लामिछानेका अनुसार, पार्टीले निर्वाचनमा मत माग्दा मतदाताले मतदान गर्दा यी सबै विषयमा कार्यान्वयन सुनिश्चित गर्ने लक्ष्य राखेको छ। उनले सदाचार, असल शासन, मध्यम वर्गीय विस्तार, कनेक्टिभिटी र प्रवासको विषयलाई विशेष प्राथमिकतामा राखिएको बताए।

यस घोषणाले रास्वपाको चुनावी एजेन्डा स्पष्ट बनाउँदै मतदातासँग प्रत्यक्ष संवाद गर्ने प्रयासलाई बल दिइरहेको छ। पार्टीले करारमार्फत आफ्नो नीति, मूल्य र जनहितका लक्ष्यलाई चुनावी अभियानसँग जोड्ने प्रयास गरेको देखिन्छ।