रास्वपामा अर्को झट्का, ‘विधान विपरीत गतिविधि’ भन्दै भुर्तेलको राजीनामा


रास्वपामा अर्को झट्का, ‘विधान विपरीत गतिविधि’ भन्दै भुर्तेलको राजीनामा
  • नवकिरण
  • फागुन ६, २०८२

काठमाडौं, फागुन ६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की संस्थापक सदस्य तथा २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार रहेकी खेमकुमारी भुर्तेल (उर्मिला)ले पार्टीबाट राजीनामा दिएकी छन्। उनले साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरेकी हुन्।

भुर्तेल २०७९ को निर्वाचनमा प्रत्यक्षतर्फ प्रतिस्पर्धा गर्ने ११ महिला उम्मेदवारमध्ये मधेस प्रदेशबाट एक्लो उम्मेदवार थिइन्। उनले आफ्नो योग्यता, क्षमता र समय पार्टीका लागि समर्पित गर्दै आएको उल्लेख गर्दै पछिल्लो कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाएकी छन्।

राजीनामापत्रमा उनले पार्टी विधि–विधान विपरीत चाप्लुसी र आर्थिक प्रभावमा चलेको, सक्षम महिला तथा युवालाई नारामै सीमित राखिएको र जिम्मेवारी दिनुपर्ने ठाउँमा बेवास्ता गरिएको आरोप लगाएकी छन्। साथै, आसन्न फागुन २१ गतेको निर्वाचनसम्बन्धी पार्टीको निर्णय र कार्यशैली स्थापना कालीन मूल्य, विधान र सार्वजनिक प्रतिबद्धताभन्दा विपरीत भएको उनको भनाइ छ।

उनले संगठनमा सक्रिय रूपमा खटिएका सदस्यहरूको योगदानको उचित मूल्याङ्कन नभएको, पार्टीभित्र आर्थिक अनियमितता बढेको र निर्णय प्रक्रियामा पारदर्शिता अभाव देखिएको दाबी गरेकी छन्।

यस्ता गतिविधिले आफ्नो आत्मसम्मान र राजनीतिक मूल्यमा आँच पुगेको महसुस गर्दै पार्टीभित्र रहेर नागरिकप्रति जवाफदेही बन्न नसक्ने निष्कर्षसहित राजीनामा दिएको उनले उल्लेख गरेकी छन्।