सहकारी पीडितका गुनासा सुन्दै भूमिमन्त्री रावल, समाधानमा सरकार केन्द्रित


सहकारी पीडितका गुनासा सुन्दै भूमिमन्त्री रावल, समाधानमा सरकार केन्द्रित
  • नवकिरण
  • चैत्र १९, २०८२

काठमाडौं, चैत १९ – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले सहकारी पीडितहरूसँग प्रत्यक्ष भेटघाट गरी उनीहरूका समस्या सुन्न सुरु गरेकी छन्। बचत फिर्ता नपाएर लामो समयदेखि समस्यामा परेका नागरिकलाई लक्षित गर्दै मन्त्रालयमा संवाद कार्यक्रम सञ्चालन गरिएको हो।

सरकारले साना बचतकर्तालाई प्राथमिकतामा राख्दै सय दिनभित्र रकम फिर्ता गराउने लक्ष्य लिएको छ। यही योजनाअनुसार मन्त्री रावलले पीडितहरूसँग प्रत्यक्ष छलफल गरी उनीहरूको अवस्था बुझ्न थालेकी हुन्।

मन्त्रालयमा भेला भएका पीडितहरूले आफ्नो भोगाइ, आर्थिक कठिनाइ तथा सहकारीप्रति विश्वास गुम्दै गएको अवस्थाबारे खुलस्त रूपमा धारणा राखेका छन्। उनीहरूले तत्काल राहत र ठोस कदमको मागसमेत गरेका छन्।

मन्त्री रावलले सरकार सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै पीडितलाई न्याय दिलाउन कुनै कसर बाँकी नराखिने बताइन्। उनले समस्याको दीर्घकालीन समाधानका लागि आवश्यक नीति तथा कार्यक्रम ल्याइने पनि संकेत गरिन्।

सरकारको यो पहलले सहकारी क्षेत्रमा देखिएको संकट समाधानतर्फ सकारात्मक संकेत दिने अपेक्षा गरिएको छ।