काठमाडौं, चैत २० – प्रतिनिधि सभाको सभामुख पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्यालले उम्मेदवारी दर्ता गरेका छन्। संघीय संसद सचिवालयले निर्धारण गरेको समयसीमाभित्र शुक्रबार उनको मनोनयन दर्ता भएको हो।
अर्यालको प्रस्तावकमा रास्वपा सभापति रवि लामिछाने रहेका छन् भने समर्थनमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, कानुन मन्त्री सोविता गौतम र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल उभिएका छन्।
सभामुख चयन प्रक्रिया चैत २२ गते बस्ने प्रतिनिधि सभा बैठकमार्फत् अघि बढाइनेछ। बैठकमा प्रस्ताव र समर्थन प्रस्तुत भएपछि छलफल गरी निर्णय गरिने कार्यसूची तय गरिएको छ।
रास्वपाले यसअघि नै पार्टीभित्र छलफल गरी अर्याललाई सभामुखका लागि अघि सार्ने निर्णय गरेको थियो। प्रतिनिधि सभामा पार्टीको बलियो उपस्थितिका कारण अर्यालको जित लगभग सुनिश्चितजस्तै देखिएको छ।
यसबीच सभामुख पद रिक्त रहेकाले प्रतिनिधि सभा बैठकको अध्यक्षता ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले गर्दै आएका छन्।
