कीर्तिपुर क्रिकेट मैदानमा प्यारापेट र फ्लडलाइट जडान कार्यको निरीक्षणमा प्रधानमन्त्री ओली


कीर्तिपुर क्रिकेट मैदानमा प्यारापेट र फ्लडलाइट जडान कार्यको निरीक्षणमा प्रधानमन्त्री ओली
  • नवकिरण
  • जेष्ठ २५, २०८२

काठमाडौं, जेठ २५ – प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित क्रिकेट मैदानको निर्माण कार्य स्थलगत रूपमा निरीक्षण गरेका छन्। निरीक्षणको क्रममा उनले आगामी ३०० दिनभित्र अन्तर्राष्ट्रियस्तरको प्यारापेट र फ्लडलाइट जडान कार्य सम्पन्न गर्ने प्रतिबद्धता दोहोर्‍याए।

प्रधानमन्त्री ओलीले सरकार गठनपछि पहिलो निर्णयका रुपमा सो कार्यलाई उच्च प्राथमिकतामा राख्दै ती संरचनाहरू निर्माण गर्ने घोषणा गरेका थिए। निरीक्षण भ्रमणमा उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह, मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल लगायतका अधिकारीहरू सहभागी थिए।

प्रधानमन्त्री ओलीले निर्माण कार्यका प्रमुख चक्रवर्ती कंठ र निर्माण व्यवसायीहरूसँग हालसम्मको प्रगति तथा निर्माण प्रक्रियाका विविध पक्षबारे जानकारी लिएका थिए। यसअघि वैशाख २२ गते सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निर्माणसँग सम्बन्धित अधिकारी र व्यवसायीहरूसँग कार्यप्रगतिबारे समीक्षा गर्दै प्रधानमन्त्री ओलीले दुई महिनाभित्र काम सम्पन्न गर्न निर्देशन दिएका थिए।

प्यारापेट र फ्लडलाइट जडान कार्यका लागि दुईवटा ठेकेदार कम्पनीसँग क्रमशः पुस १९ र २२ गते सम्झौता गरिएको थियो। सरकारले निर्माणलाई तीव्रता दिँदै अन्तर्राष्ट्रिय मापदण्ड अनुरूपको खेल संरचना निर्माणमा विशेष ध्यान दिएको छ।