पोखरा, साउन २० – आफूलाई सामाजिक अभियन्ता बताउँदै आएकी शर्मिला वाइबालाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ।
साइबर अपराधसम्बन्धी मुद्दामा उनलाई मंगलबार पोखराको लेकसाइडबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी हरि बस्नेतले जानकारी दिए।
बस्नेतका अनुसार काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएकाले उनीविरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको हो। “काठमाडौँ जिल्ला अदालतको आदेशका आधारमा पक्राउ गरिएको हो,” डीएसपी बस्नेतले भने।
पक्राउ परेपछि वाइबालाई थप अनुसन्धान र म्याद थपका लागि काठमाडौं पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
स्मरणीय छ, पछिल्लो समय वाइबा सामाजिक सञ्जालमा विभिन्न विवादास्पद अभिव्यक्तिका कारण चर्चामा थिइन्। प्रहरीका अनुसार उनको गतिविधिबारे विस्तृत अनुसन्धान हुने बताइएको छ।