१८ करोड बिगोसहित दुर्गा प्रसाईंविरुद्ध सुनुवाइ सुरु


१८ करोड बिगोसहित दुर्गा प्रसाईंविरुद्ध सुनुवाइ सुरु
  • नवकिरण
  • पौष ११, २०८२

काठमाडौं, पुस ११ – मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि दर्ता भएको बैंकिङ कसुरसम्बन्धी मुद्दाको सुनुवाइ उच्च अदालत पाटनमा हुने भएको छ। बुधबार न्यायाधीशद्वय लेखनाथ पौडेल र गीता प्रसाद तिम्सिनाको संयुक्त इजलासमा उक्त मुद्दा पेश हुँदैछ।

यसअघि सोही मुद्दामा उच्च अदालतकै अर्को इजलासले प्रसाईंलाई २५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो। न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीको इजलासले धरौटीमा छाड्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकले गत माघ २३ गते प्रसाईंको बैंकिङ कारोबारमाथि छानबिन गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई पत्र पठाएको थियो। त्यसपछि सीआईबीले अनुसन्धान पूरा गरी विशेष सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो।

उक्त प्रतिवेदनका आधारमा सरकारी वकिलले प्रसाईंविरुद्ध १८ करोड ४४ लाख रुपैयाँ बिगो कायम गर्दै जरिवाना तथा कैद सजायको मागसहित मुद्दा दायर गरेको हो। साथै पीडित राहत कोषमा क्षतिपूर्ति भराउन पनि माग गरिएको छ।

प्रसाईंमाथि विभिन्न बैंक तथा वित्तीय संस्थामा रहेका खाताहरूमा कृत्रिम कारोबार देखाउने (राउन्ड ट्रिपिङ), स्वार्थ बाझिने पक्षहरूसँग आपसी लेनदेन गर्ने तथा अन्य शंकास्पद आर्थिक गतिविधि गरेको आरोप लगाइएको छ।