प्रधानमन्त्री कार्कीले सिफारिस गरेका चार नवनियुक्त मन्त्रीले सम्हाले जिम्मेवारी


प्रधानमन्त्री कार्कीले सिफारिस गरेका चार नवनियुक्त मन्त्रीले सम्हाले जिम्मेवारी
  • नवकिरण
  • मंसिर २६, २०८२

काठमाडौं, मंसिर २६ – प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा नियुक्त भएका चार नवनियुक्त मन्त्रीले शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई पद तथा गोपनियताको शपथ गराएका हुन्।

सरकारमा समावेश भएका मन्त्रीहरूमा श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नाम छन्। उनीहरूलाई क्रमशः मन्त्रालयको जिम्मेवारी पनि तोकिएको छ।

कसलाई के जिम्मेवारी?

श्रद्धा श्रेष्ठ – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक

पर्यटन क्षेत्रमा दुई दशकभन्दा बढी अनुभव बोकेकी श्रद्धा श्रेष्ठ नेपाल पर्यटन बोर्डकी वरिष्ठ प्रबन्धक हुन्। उनी संयुक्त राष्ट्रसंघको दिगो पर्यटन परियोजना (एसटीपी) की राष्ट्रिय संयोजक समेत हुन्। अमेरिकाको मिसिगन स्टेट यूनिभर्सिटीबाट आर्थिक विकासमा स्नातकोत्तर गरेकी श्रेष्ठ फुलब्राइट फेलोसमेत हुन्।

माधव चौलागाईं – वन तथा वातावरण

लेखक तथा अनुसन्धानकर्ता माधव चौलागाईं कर्णाली क्षेत्रको संस्कृति, इतिहास र विकास विषयमा गहिरो अध्ययनका लागि परिचित छन्। उनी कर्णाली उत्सव छलफल अभियानका अगुवा हुन् र जनस्वास्थ्य तथा ग्रामीण विकासमा विशेष चासो राख्छन्।

राजेन्द्रसिंह भण्डारी – श्रम, रोजगार तथा सामाजिक सुरक्षा

नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक (एआईजी) भण्डारी अपराध अनुसन्धानमा दक्ष नामका रूपमा परिचित छन्। उनले सीआईबी (केंद्रिय अनुसन्धान ब्यूरो) का संस्थापक प्रमुखको रूपमा महत्वपूर्ण भूमिका खेलेका थिए। पछि उनी प्रहरी अध्ययन प्रतिष्ठानका प्रमुखसमेत बने।

कुमार इङ्नाम – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण

फौजदारी कानूनका विज्ञ प्राध्यापक कुमार इङ्नाम २५ वर्षदेखि काठमाडौं स्कूल अफ ल’मा अध्यापन गर्दै आएका छन्। उनी नेपालसहित विभिन्न देशमा अतिथि प्राध्यापकका रूपमा समेत सक्रिय छन्। उनका धेरै पुस्तक, अनुसन्धान तथा शोधन लेख प्रकाशित छन्।

शपथ ग्रहणपछि मन्त्रीहरूले आजै आफ्नो-आफ्नो मन्त्रालयमा जिम्मेवारी सम्हाल्ने तयारी गरेका छन्। नयाँ मन्त्रीहरूसँगै सरकारको कार्यशैलीमा ऊर्जा थपिने अपेक्षा गरिएको छ।