भदौको घटनापछि पहिलोपटक आयोगमा उपस्थित हुँदै रमेश लेखक


भदौको घटनापछि पहिलोपटक आयोगमा उपस्थित हुँदै रमेश लेखक
  • नवकिरण
  • पौष १४, २०८२

काठमाडौँ, पुस १४ – नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक भदौ २३ र २४ गते भएको घटनाको विषयमा छानबिन गरिरहेको जाँचबुझ आयोगमा बयान दिन उपस्थित हुने भएका छन्। आयोगको बोलावटपछि उनी सोमबार बिहान ११ बजे आयोगको कार्यालयमा पुग्नेछन्।

जेनजी आन्दोलनका क्रममा ती दिन घटेका घटनाको अनुसन्धान गर्दै आएको आयोगले लेखकसँग सोधपुछ गर्न चाहेको हो। यस क्रममा उनले घटनासम्बन्धी आफूलाई जानकारी भएको विवरण र आफ्नो दृष्टिकोण आयोगसमक्ष राख्ने जनाइएको छ।

आयोगमा बयान सकेपछि लेखकले दिउँसो ४ बजे सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गर्ने तयारीसमेत गरेका छन्। पत्रकार सम्मेलनमार्फत उनले आयोगमा दिएको बयान र भदौको घटनासँग जोडिएका विषयमा स्पष्ट धारणा सार्वजनिक गर्ने तयारी रहेको बताइएको छ।