दुर्गा प्रसाईँविरुद्ध १८ करोड बिगोको बैंकिङ कसुर मुद्दा आज सुनुवाइमा


दुर्गा प्रसाईँविरुद्ध १८ करोड बिगोको बैंकिङ कसुर मुद्दा आज सुनुवाइमा
  • नवकिरण
  • पौष २५, २०८२

काठमाडौं, पुस २५ – मेडिकल व्यवसायी दुर्गा प्रसाईँविरुद्ध दायर गरिएको बैंकिङ कसुरसम्बन्धी मुद्दाको सुनुवाइ उच्च अदालत पाटनमा सुरु हुने भएको छ।

प्रसाईँसहित उमा प्रसाईँ, नीराजन प्रसाईँ र आर्जु प्रसाईँलाई विपक्षी बनाइएकाे उक्त मुद्दा न्यायाधीशद्वय खड्कबहादुर केसी र कृपासुर कार्कीको संयुक्त इजलासमा पेश हुँदैछ।

नेपाल राष्ट्र बैंकले गत माघ २३ गते दुर्गा प्रसाईँको आर्थिक कारोबारमा शंका देखिएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई अनुसन्धानका लागि पत्राचार गरेको थियो। सीआईबीले आवश्यक अनुसन्धान सम्पन्न गरी विशेष सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको हो।

अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलले प्रसाईँविरुद्ध १८ करोड ४४ लाख रुपैयाँ बिगो कायम गर्दै जरिवाना र कैद सजायको मागसहित मुद्दा दायर गरेको छ। यसअघि भने उच्च अदालतकै अर्को इजलासले प्रसाईँलाई २५ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो।

प्रसाईँमाथि विभिन्न बैंक तथा वित्तीय संस्थामा रहेका खातामार्फत राउन्ड ट्रिपिङ गर्ने, स्वार्थ बाझिने पक्षसँग कारोबार गर्ने तथा शंकास्पद आर्थिक गतिविधि सञ्चालन गरेको आरोप लगाइएको छ। साथै, पीडित राहत कोषमा क्षतिपूर्ति भराउने मागसमेत अभियोजन पक्षले गरेको छ।