लामिछानेसम्बन्धी मुद्दा फिर्ता गर्ने निर्णयविरुद्ध सर्वोच्चमा आज सुनुवाइ


लामिछानेसम्बन्धी मुद्दा फिर्ता गर्ने निर्णयविरुद्ध सर्वोच्चमा आज सुनुवाइ
  • नवकिरण
  • चैत्र १, २०८२

काठमाडौँ, चैत्र १ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग सम्बन्धित मुद्दाको अभियोगपत्र फिर्ता गर्ने निर्णयविरुद्ध दायर गरिएको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ ।

आइतबार उक्त रिट न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा पेशी तोकिएको अदालत स्रोतले जनाएको छ ।

महान्यायाधिवक्ता सविता भण्डारीले रवि लामिछानेमाथि दायर सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामध्ये सहकारी ठगीबाहेकका अभियोग हटाउने गरी जिल्ला सरकारी वकिल कार्यालयहरूलाई निर्देशन दिएकी थिइन् ।

सो निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानुन अध्ययनरत आयुष बडाल तथा युवराज पौडेल सफलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उनीहरूले महान्यायाधिवक्ताको निर्देशन कानुनविपरीत भएको दाबी गर्दै त्यसलाई बदर गर्न माग गरेका छन् ।

महान्यायाधिवक्ताको निर्देशनअनुसार कास्की र रुपन्देही जिल्ला अदालतमा अभियोगपत्र संशोधनका लागि निवेदन दर्ता गरिएको भए पनि सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकाले त्यसको थप प्रक्रिया अघि बढ्न सकेको छैन ।

काठमाडौँ र पर्साका सरकारी वकिल कार्यालयले भने अहिलेसम्म अभियोगपत्र संशोधनका लागि निवेदन दिएका छैनन् ।