विराटनगर, फागुन १२ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले तोकिएको निर्वाचन मिति परिवर्तन गर्नै पर्ने अवस्था आए चार दिन अघि सार्न आग्रह गरेका छन्।
मंगलबार इटहरीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले फागुन २१ गतेका लागि तय गरिएको निर्वाचन सार्ने विषयमा चलिरहेको बहसप्रति प्रतिक्रिया जनाएका हुन्। पछिल्ला दिनहरूमा विभिन्न राजनीतिक दल र समूहबाट निर्वाचन स्थगित गर्नुपर्ने आवाज उठिरहेको छ।
यसै सन्दर्भमा लामिछानेले चुनाव सार्ने विषयमा स्पष्ट धारणा राख्दै अनिश्चितता सिर्जना नगर्न आग्रह गरे। उनले निर्वाचनको तयारीमा जुटिसकेको आफ्नो पार्टी कुनै पनि निर्णयका लागि तयार रहेको बताए।
‘चुनाव सार्ने हो भने चार दिन अघि सारौँ, हामीलाई ठिक छ,’ उनले सभामा भने, ‘तर देशलाई अन्योलमा राख्ने काम हुनुहुँदैन।’
हाल राजनीतिक वृत्तमा निर्वाचन मिति सार्नेबारे चर्चा चलिरहे पनि यसबारे औपचारिक निर्णय भने भइसकेको छैन।
