काठमाडौँ, चैत ९ – हिंसाग्रस्त महिलाका लागि न्यायको माग गर्दै पीडित पक्षले राष्ट्रिय महिला आयोगमा नाराबाजी गरेका छन्। उनीहरूले ‘महिला अधिकार सुनिश्चित गर’ र ‘महिला आयोग किन चुप ?’ जस्ता नाराहरू लगाएका थिए।
सुर्खेतकी इनिशा विक र खोटाङकी रेश्मिका परियारको बलात्कारपछि हत्या घटनामा दोषीमाथि तत्काल कारबाही गर्न परिवारले आग्रह गरेका छन्।
माइतीघर मण्डलामा धर्ना बसे पनि सुनुवाइ नभएको भन्दै पीडित पक्षले आयोगको ध्यानाकर्षण गराएको छ। खोटाङ सेवा समाजले पनि उनीहरूको मागमा ऐक्यबद्धता जनाएको छ।
सचिव नवराज रोकाले पीडितले चाँडो न्याय पाउनुपर्ने र दोषीले कडा सजाय पाउनुपर्ने बताए। अहिलेसम्म आयोगले कुनै औपचारिक प्रतिक्रिया दिएको छैन।
