काठमाडौं, चैत १० – पूर्वशिक्षामन्त्री महावीर पुनले नयाँ बन्ने सरकारलाई भ्रष्टाचार नियन्त्रणमा कठोर र प्रभावकारी रूपमा प्रस्तुत हुन आग्रह गरेका छन्। सामाजिक सञ्जालमा धारणा राख्दै उनले सुरुवातमै स्पष्ट सन्देश दिने गरी भ्रष्टाचारविरुद्ध निर्णायक कदम चाल्नुपर्ने बताएका हुन्।
उनले भ्रष्टाचारमा संलग्न व्यक्तिलाई कडा कारबाही गरी पुनः त्यस्तो गतिविधिमा संलग्न हुन नसक्ने वातावरण बनाउनु आवश्यक रहेको उल्लेख गरेका छन्। यदि वर्तमान कानुनी व्यवस्था कमजोर देखिए तत्काल संशोधन वा नयाँ कानुन ल्याउनुपर्ने उनको जोड छ।
पुनले भ्रष्टाचार नियन्त्रणमा असफलता जनताप्रति विश्वासघात हुने बताएका छन्। साथै यसले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को भविष्यमा समेत नकारात्मक असर पार्न सक्ने चेतावनी उनले दिएका छन्।
तीन महिनाभित्र जनताले सुशासनको अनुभूति गर्न सक्ने गरी काम गर्नुपर्ने उनको भनाइ छ। उनले भ्रष्टाचार अन्त्यका लागि सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।
