काठमाडौं, चैत १० – चलचित्र ‘तेल भिसा’ का निर्माता शिवराज कार्कीलाई ठगीको आरोपमा पक्राउ गरिएको छ। प्रहरीले कार्कीमाथि विदेश पठाइदिन्छु भनी २५० जनालाई ठगी गरेको ठहर गरेको छ। अहिले १०० भन्दा बढी पीडितहरूले प्रहरीमा उजुरी दर्ता गरिसकेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी मनोहर भट्टका अनुसार, कार्कीलाई स्वयम्भूबाट पक्राउ गरी वैदेशिक रोजगार विभाग, ताहचल पठाइएको छ। उनी सिन्धुलीको सुनकोशी गाउँपालिका–७ का मूल बासिन्दा हुन्।
पक्राउ क्रममा कार्की भारतको नयाँ दिल्लीस्थित पहाडगञ्जमा बस्दै आएका थिए र त्यहाँ अन्नपूर्ण फास्टफुड सञ्चालन गर्दै आएका थिए। उनीविरुद्ध वैदेशिक ठगीसम्बन्धी ६ वटा पक्राउ पुर्जी जारी रहेको छ। पक्राउमा भारतीय आधार कार्ड र प्यान कार्ड समेत बरामद भएको छ।
कार्कीले चाबहिलमा पी एण्ड एम इनोभेशन सर्भिस नामक कन्सलटेन्सी १० वर्षदेखि सञ्चालन गर्दै आएका थिए। यसअघि उनीविरुद्ध २५ असार २०८२ मा बैंकिङ कसुरसम्बन्धी मुद्दा समेत दर्ता भएको थियो।
