रक्सौल लगेर युवतीलाई यौन पेसामा लगाउने महिला पक्राउ


रक्सौल लगेर युवतीलाई यौन पेसामा लगाउने महिला पक्राउ
  • नवकिरण
  • बैशाख २९, २०८२

पर्सा, वैशाख २९ – नयाँ कपडा किनिदिने प्रलोभन देखाएर एक युवतीलाई भारतको रक्सौल पुर्‍याई यौन पेसामा लगाएको आरोपमा एक महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१६ नगवाकी २० वर्षीया अलिया खातुन रहेकी छन्।

जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले खातुनलाई पक्राउ गरी पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थपेर मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको जनाएको छ।

डीएसपी किशोर लम्सालका अनुसार वैशाख २१ गते खातुनले पीडित युवतीलाई नयाँ कपडा किनिदिन्छु भनी भारतको रक्सौल पुर्‍याई यौन व्यवसायमा लगाएकी थिइन्। प्रहरीले ती युवतीलाई उद्धार गरी नेपाल फर्काएको छ।

प्रहरीका अनुसार यसअघि पनि खातुनले यस्तै तरिकाले अन्य बालिकाहरुलाई भारत लगेर यौन पेसामा संलग्न गराएको भन्ने सूचनाका आधारमा थप अनुसन्धान जारी रहेको छ।