काठमाडौं, चैत १६ – हर्कराज राई ( हर्क साम्पाङ ) साइबर अपराधसम्बन्धी उजुरी लिएर नेपाल प्रहरी साइबर ब्युरो पुगेका छन्।
सामाजिक सञ्जालमार्फत आफू तथा आफ्नो परिवारलाई लक्षित गरी ज्यान मार्ने र घरमा आगजनी गर्ने धम्की आएको भन्दै उनले औपचारिक उजुरी दर्ता गराएका हुन्। श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका राईले धम्की दिने व्यक्तिविरुद्ध प्रमाणसहित कारबाहीको माग गरेका छन्।
उनका अनुसार सुनिता खड्का नामकी व्यक्तिले टिकटकसहित विभिन्न सामाजिक सञ्जालमार्फत गालीगलौज र धम्की दिएको उल्लेख गरिएको छ। सो घटनासम्बन्धी भिडियो र तस्वीरजस्ता प्रमाण पनि उनले साइबर ब्युरोमा पेश गरेका छन्।
यस विषयमा राईले आफ्नो सामाजिक सञ्जालमार्फत पनि प्रतिक्रिया जनाउँदै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। उनले आफ्ना समर्थकलाई लक्षित गरी हुने यस्ता गतिविधिमा सरकारको कस्तो प्रतिक्रिया आउँछ भन्ने प्रश्न समेत उठाएका छन्।
