हिमपातले पाथीभरा ढाकिँदा दर्शनार्थीको ओइरो


हिमपातले पाथीभरा ढाकिँदा दर्शनार्थीको ओइरो
  • नवकिरण
  • चैत्र ७, २०८२

ताप्लेजुङ, चैत ७ – प्रसिद्ध धार्मिक स्थल पाथीभरा क्षेत्रमा यस वर्ष पाँचौँ पटक हिमपात भएको छ। शुक्रबार साँझबाट सुरु भएको वर्षासँगै उक्त क्षेत्रमा हिउँ परेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।

समितिका अनुसार पछिल्ला केही दिनदेखि पाथीभरा क्षेत्रको मौसम बदली हुँदै आएको थियो। त्यसैबीच शुक्रबार परेको हिमपातसँगै यस वर्षको कुल हिमपात संख्या पाँच पुगेको हो।

हिउँ परेपछि पाथीभरा पुग्ने दर्शनार्थीहरूको संख्या उल्लेख्य रूपमा बढेको छ। धार्मिक आस्था पूरा गर्न आउने भक्तजनसँगै हिउँमा रमाउन चाहने आन्तरिक पर्यटकहरूको समेत भीड लागेको देखिन्छ।

स्थानीयवासीका अनुसार हिमपातपछि जिल्लाभर चिसो बढेको छ। विशेषगरी उत्तरी उच्च भेगहरूमा समेत हिउँ जमेको जानकारी प्राप्त भएको छ।

हिउँसँगै बढेको चिसोले जनजीवन प्रभावित भए पनि पाथीभरा क्षेत्र भने पर्यटक र भक्तजनको आकर्षणको केन्द्र बनेको छ।