फेसबुक, ट्वीटर र युट्युबलगायत २६ सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय


फेसबुक, ट्वीटर र युट्युबलगायत २६ सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय
  • नवकिरण
  • भाद्र १९, २०८२

काठमाडौं, भदौ १९ – सरकारले फेसबुक, ट्वीटर (एक्स), युट्युबसहित २६ वटा सामाजिक सञ्जाल तत्कालै बन्द गर्ने निर्णय गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बिहीबार बसेको बैठकले मन्त्रिपरिषदको अघिल्लो निर्णय र सर्वोच्च अदालतको परमादेश कार्यान्वयन गर्ने निष्कर्षमा पुगेको हो।

मन्त्रालयले सो निर्णय कार्यान्वयनका लागि नेपाल दूरसञ्चार प्राधिकरणलाई आधिकारिक पत्राचार गरिसकेको स्रोतले जनाएको छ। अब नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्रयोग गर्न नपाइने भएको छ।

सर्वोच्च अदालतको न्यायाधीश टेकप्रसाद ढुंगाना र शान्ति सिंह थापाको इजलासले बुधबार मात्र आदेश जारी गर्दै अनुमतिविहीन सामाजिक सञ्जाल र ओभर द टप (ओटीटी) एप्समार्फत विज्ञापनसहित सामग्री प्रसारण रोक्न सरकारलाई निर्देशन दिएको थियो। साथै, प्रसारणसम्बन्धी कानुनी व्यवस्था बनाउन पनि अदालतले सरकारलाई आदेश दिएको हो।

हालको प्रसारण नियमावलीअनुसार कुनै पनि विदेशी प्रसारण संस्था वा डिजिटल सामग्री उत्पादकले नेपालमा सेवा दिनुअघि सरकारले तोकेको अनुमति लिनुपर्ने प्रावधान छ। सरकार यसअघि नै नियमनविहीन सामाजिक सञ्जाल बन्द गर्ने तयारीमा रहेको अवस्थामा सर्वोच्च अदालतको आदेशसँगै उक्त प्रक्रिया तीव्र भएको हो।