अलग–अलग भेटपछि आज संयुक्त छलफलमा रवि, बालेन र कुलमान


अलग–अलग भेटपछि आज संयुक्त छलफलमा रवि, बालेन र कुलमान
  • नवकिरण
  • पौष ११, २०८२

काठमाडौँ, पुस ११ – वैकल्पिक राजनीतिक शक्तिहरूबीच सहकार्यको सम्भावना खोजिँदै गर्दा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ, काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच आज संयुक्त भेटवार्ता हुने भएको छ।

कुलमान घिसिङ निकट स्रोतका अनुसार, पछिल्ला दिनहरूमा भएका छुट्टाछुट्टै भेटपछि अब तीनै जना एकै ठाउँमा बसेर राजनीतिक अवस्थाबारे गम्भीर छलफल गर्ने तयारीमा छन्। यसअघि बिहीबार घिसिङ र लामिछानेले मेयर साहसँग अलग–अलग भेटवार्ता गरेका थिए।

वैकल्पिक राजनीतिक धारको मोर्चाबन्दीका विषयमा चलिरहेको आन्तरिक संवादलाई निर्णायक दिशातर्फ लैजान यो त्रिपक्षीय भेटलाई महत्वपूर्ण रूपमा हेरिएको छ। भेटवार्तामा भावी राजनीतिक सहकार्य, साझा एजेन्डा र समसामयिक राष्ट्रिय मुद्दामा छलफल हुने अनुमान गरिएको छ।