काठमाडौं, वैशाख २९ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विद्यमान निर्वाचन प्रणालीलाई ‘लुटेरा प्रणाली’को संज्ञा दिँदै त्यसप्रति आपत्ति जनाएका छन्।
सोमबार सुर्खेतमा आयोजित वाइसिएल कर्णाली प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै उनले करोडौँ खर्च गर्नुपर्ने निर्वाचन प्रणाली दलित, जनजाति, उत्पीडित वर्गका लागि अन्यायपूर्ण रहेको बताए। “खर्च नगरी सबैले चुनाव लड्न मिल्ने प्रणाली आवश्यक छ,” उनले भने।
प्रचण्डले क्रान्तिकारी र प्रतिगामी शक्तिबीच अब कडा टक्कर हुने जनाउँदै सबै समुदायलाई सचेत हुन आग्रह गरे। उनले संविधान संशोधनको नाममा प्रतिगमनको बाटो खोल्न खोजिएको आरोपसमेत लगाए।
कार्यक्रममा उनले आफ्नो नेतृत्वको सरकारले ल्याएको विशेष प्याकेजलाई केपी शर्मा ओली नेतृत्वको सरकारले कटौती गरेकोप्रति असन्तुष्टि जनाए। जेठ १५ गते गणतन्त्र दिवसको दिन राजावादीहरूले गर्न लागेको प्रदर्शनलाई समेत उनले प्रतिगमनको प्रयास भन्दै प्रतिकार गर्न वाइसिएल र सबै अग्रगामी शक्तिलाई आह्वान गरे।
“राजाको हत्या हुँदा पनि केही गर्न नसक्नेहरू अहिले गणतन्त्रविरुद्ध बोलिरहेका छन्,” उनले कडा शब्दमा भने।
त्यस्तै, प्रचण्डले मुठ्ठीभर दलाल पुँजीपतिहरूले अर्थतन्त्र कब्जा गरेको, भू–माफियाहरूले ब्रह्मलुट मच्चाएको र भ्रष्टतन्त्रको संरक्षणमा आफ्नो सरकार ढालिएको आरोप पनि लगाए।