काठमाडौं, वैशाख ३१ – काठमाडौँ महानगरपालिका–२४ स्थित मखन टोलको महादेव चोकमा बुधबार बिहान भीषण आगलागी भएको छ। दयाराम श्रेष्ठको चार तले माटो र काठले बनेको घरको तेस्रो तल्लाबाट ग्याँस लिक भएर सुरु भएको आगोले ठूलो क्षति पुर्याएको छ।
आगो नजिकै रहेको रुकेश श्रेष्ठको पाँच तले पक्की घरमा समेत फैलिएको छ। घटनास्थलमा प्रहरी नायव उपरीक्षक कृष्ण कुमार चन्दको कमान्डमा २० जनाको प्रहरी टोली, नेपाली सेना र सशस्त्र प्रहरी बल खटिएका छन्।
प्रहरीका अनुसार घरभित्र रहेका मानिसहरूको उद्धार कार्य जारी छ। आगो नियन्त्रणमा लिन जुद्ध बारुद २, नेपाल आर्मी, ललितपुर महानगरपालिका, रामहिटी र बालाजु औद्योगिक क्षेत्रबाट आएका ६ वटा दमकल प्रयोग गरिएको छ।
तर आगो अझै पूर्णरूपमा नियन्त्रणमा आउन सकेको छैन। क्षतिको पूर्ण विवरण आउन बाँकी छ।