तनहुँ, जेठ ६ – तनहुँको बन्दिपुर–४, गोरेचौतारास्थित पृथ्वी राजमार्गमा यात्रुवाहक बस र टिप्पर आपसमा ठोक्किँदा ७ जना घाइते भएका छन्।
रुकुम पश्चिमबाट काठमाडौँतर्फ आउँदै गरेको प्रदेश १–०१–००१ ख ४१५२ नम्बरको यात्रुबाहक बस र विपरीत दिशाबाट आउँदै गरेको बा.प्र.०१–००१ अ–००२७ नम्बरको टिप्पर बिहानको समयमा ठोक्किएको हो।
दुर्घटनामा घाइते भएका सबैको उपचार डुम्रेस्थित लक्ष्मी अस्पतालमा भइरहेको छ। यद्यपि, ४९ वर्षीय हरिसचन्द्र खत्रीको खुट्टा फ्याक्चर भएकोले उनलाई थप उपचारका लागि भरतपुर अस्पताल रिफर गरिएको छ।
अन्य घाइतेहरूमा ३५ वर्षीय चन्द्र बराल, १७ वर्षीया बिन्दु वली, ५० वर्षीय भद्रबहादुर वली, ३५ वर्षीया शर्मिला पाण्डे, बस चालक ३० वर्षीय सञ्जोग नेपाली र टिप्पर चालक ४४ वर्षीय शंकर अधिकारी रहेका छन्।
प्रहरीका अनुसार दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।