पूर्वराष्ट्रपति भण्डारीको सन्देश : गणतन्त्र नेपाली जनताको लामो संघर्षको परिणाम हो


पूर्वराष्ट्रपति भण्डारीको सन्देश : गणतन्त्र नेपाली जनताको लामो संघर्षको परिणाम हो
  • नवकिरण
  • जेष्ठ १५, २०८२

काठमाडौं, जेठ १५ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र नेपाली जनताको लामो र कठोर संघर्षको मूर्तरूप भएको बताएकी छन्।

गणतन्त्र दिवसको अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै उनले गणतन्त्रलाई ऐतिहासिक राजनीतिक उपलब्धिका रूपमा उल्लेख गरेकी हुन्।

पूर्वराष्ट्रपति भण्डारीले गणतन्त्रको रक्षा, प्रयोग र विकास गर्दै समुन्नत नेपाल निर्माण गर्न सबै नागरिकको साझा दायित्व रहेको बताइन्। उनले गणतान्त्रिक मूल्य, मान्यता र आदर्शहरूलाई सदा कायम राखिरहन सबैले आ–आफ्नो स्थानबाट भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइन्।

“यो राजनीतिक परिवर्तनले मुलुकको सामाजिक–आर्थिक विकासलाई तीव्रता दिन मार्ग प्रशस्त गरेको छ, हौसला प्रदान गरेको छ,” भण्डारीले सन्देशमा लेखेकी छन्, “शिक्षा, स्वास्थ्य, सूचना प्रविधि र पूर्वाधारको विकासमा एकस्तरका उपलब्धि हासिल भएका छन्। अनि आफ्नो देशको विकास आफैँ गर्नुपर्छ भन्ने भावना विस्तार भएको छ।”

उनले मुलुकको आर्थिक विकासका प्रयासलाई थप सघन बनाउन आवश्यक रहेको बताउँदै जनताको समृद्धिको आकांक्षालाई साकार तुल्याउन दत्तचित्त भएर लाग्नुपर्ने उल्लेख गरेकी छन्।

गणतन्त्र दिवसको अवसरमा पूर्वराष्ट्रपति भण्डारीले सम्पूर्ण नेपालीहरूमा समृद्ध, शान्त र स्थिर नेपालको कामना पनि व्यक्त गरेकी छन्।