काठमाडौं, भदौ ३० – जेनजी आन्दोलनपछिको संकटग्रस्त अवस्थाबीच सोमबार राजधानीमा नयाँ मन्त्रीहरूले शपथ ग्रहण गरेका छन्।
राष्ट्रपति कार्यालय रहेको शीतल निवासमा आगजनीपछि भवन प्रयोग अयोग्य बनेको कारण, आज शपथ समारोह खण्डहर बनेको भवनको बाहिरी आँगनमा अस्थायी पाल टाँगेर सम्पन्न गरिएको हो।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा तीन मन्त्रीलाई पद तथा गोपनीयताको शपथ दिलाएका छन्।
शपथ लिनेमा अर्थमन्त्रीका रूपमा रामेश्वर खनाल, ऊर्जा, भौतिक योजना तथा सहरी विकास मन्त्रालयको नेतृत्व कुलमान घिसिङले पाएका छन् भने गृह तथा कानुन मन्त्रालयको जिम्मेवारी ओमप्रकाश अर्याललाई दिइएको छ।
सरकारी निकायका प्रमुखहरू, कूटनीतिक नियोगका प्रतिनिधि तथा अन्य अतिथिहरूको उपस्थितिमा सम्पन्न सो कार्यक्रममा, घिसिङलाई तीन मन्त्रालय र अर्याललाई दुई मन्त्रालयको जिम्मेवारी दिएको औपचारिक घोषणा गरिएको हो।