काठमाडौं, भदौ २४ – सरकारविरुद्ध उग्र बनेको आन्दोलनले देशभर नै हिंसा र तोडफोड फैलिएको छ । प्रमुख राजनीतिक नेताहरुका निजी निवासदेखि पार्टी कार्यालयसम्म प्रदर्शनकारीको निशानामा परेका छन् । सुरक्षाकर्मीले नियन्त्रण पाउन नसकेपछि संवेदनशील क्षेत्रमा स्थिति तनावपूर्ण बनेको छ ।
प्रदर्शनकारीले राष्ट्रपति रामचन्द्र पौडेलको बोहोराटारस्थित निवासमा आगजनी गरेका छन् भने प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निवासमा समेत आगो लगाइएको छ ।
त्यसैगरी, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित घरमा आगजनी भएको छ । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को खुमलटारस्थित निवासमा तोडफोड भएको छ ।
मन्त्री तथा नेताहरुका अन्य निवास पनि आक्रमणमा परेका छन् । मन्त्री निवास, भैंसेपाटीमा आगो लगाइएको छ भने परराष्ट्रमन्त्री आरजु राणा देउवाको धनगढीस्थित घरमा तोडफोडसहित आगजनी भएको छ । सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङको सुनाकोठीस्थित निवास र ऊर्जामन्त्री दीपक खड्काको बुढानीलकण्ठस्थित निवासमा पनि आगजनी भएको छ ।
त्यस्तै, कांग्रेस महामन्त्री गगन थापाको रातोपुलस्थित निवास, एमाले सचिव रघुवीर महासेठको निवास र एमाले नेता सुरेन्द्र पाण्डेको घर समेत प्रदर्शनकारीको आक्रमणमा परेका छन् ।
अहिले सुरक्षा निकायले नेताहरुलाई सुरक्षित स्थानमा सार्ने काम गरिरहेको छ भने राजधानीसहित विभिन्न सहरमा स्थिति नियन्त्रणमा लिन प्रयास भइरहेको छ ।
