प्रचण्ड : ‘कम्युनिस्ट पार्टीलाई पहिलो बनाउने हाम्रो अभियान रोकिने छैन’


प्रचण्ड : ‘कम्युनिस्ट पार्टीलाई पहिलो बनाउने हाम्रो अभियान रोकिने छैन’
  • नवकिरण
  • कार्तिक १९, २०८२

काठमाडौँ, कात्तिक १९ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा आफ्नो पार्टीलाई देशको पहिलो शक्तिशाली राजनीतिक दलका रूपमा स्थापित गर्ने दृढ विश्वास व्यक्त गरेका छन्।

बुधबार भृकुटीमण्डपमा आयोजित एकता घोषणा सभामा बोल्दै प्रचण्डले वामपन्थीबीचको एकता राष्ट्रको आवश्यकता भएको बताए। उनले भने, “हाम्रो पार्टीलाई एक नम्बर पार्टी बन्नबाट अब कसैले रोक्न सक्दैन। प्रतिक्रियावादी शक्तिहरू असहज महसुस गरिरहेका होलान्, तर हामी अहंकारमा होइन, सहकार्य र एकताको बाटोमा अघि बढ्छौँ।”

उनका अनुसार अहिले सबै राजनीतिक दलभित्र नेतृत्व हस्तान्तरणको बहस चलिरहेको छ, र कम्युनिस्ट पार्टीले पनि समयानुकूल परिवर्तनलाई आत्मसात् गर्नुपर्ने बेला आएको छ। “नेतृत्व सधैं एउटै हातमा रहनु आवश्यक छैन,” उनले भने, “भूमिगत कालमै मैले नेतृत्व सधैं आफूले गर्नुपर्छ भन्ने मान्यता तोडेको थिएँ। अब नयाँ पुस्ता, नयाँ विचार र विधिका साथ अघि बढ्ने समय आएको छ।”

प्रचण्डले राष्ट्र गम्भीर सङ्कटमा परेको भन्दै, त्यसको समाधानका लागि वामपन्थी र लोकतान्त्रिक शक्तिहरूबीच सहकार्य अनिवार्य रहेको स्पष्ट पारे। “एमालेलगायत सबै लोकतान्त्रिक शक्तिसँग हातेमालो गर्न हामी तयार छौँ,” उनले भने, “गणतन्त्र र राष्ट्रियताको रक्षा सबैको साझा जिम्मेवारी हो।”

उनले नेतृत्व हस्तान्तरणदेखि वाम एकतासम्मका विषयमा एमाले अध्यक्ष माधवकुमार नेपालसँग निरन्तर छलफल भइरहेको समेत जानकारी दिए।

प्रचण्डका अनुसार, “२१औँ शताब्दीको कम्युनिस्ट आन्दोलनलाई जीवित राख्न नयाँ सोच र प्रणाली विकास गर्नुपर्ने” बेला आएको छ।