गगन थापाको आत्मस्वीकृति : ‘१४औँ महाधिवेशनमा देउवालाई सभापति बन्न दिनु ठुलो गल्ती भयो’


गगन थापाको आत्मस्वीकृति : ‘१४औँ महाधिवेशनमा देउवालाई सभापति बन्न दिनु ठुलो गल्ती भयो’
  • नवकिरण
  • कार्तिक २७, २०८२

काठमाडौं, कात्तिक २७ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २०७८ सालमा सम्पन्न १४औँ महाधिवेशनमा शेरबहादुर देउवालाई सभापति बन्न दिनु आफ्नो राजनीतिक जीवनकै ठुलो गल्ती भएको बताएका छन्।

बिहीबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्दै थापाले आफूले सभापति पदमा उम्मेदवारी नदिई महामन्त्रीमा लड्नु नै गलत निर्णय भएको स्वीकार गरे।

‘मैले २०६८ सालदेखि पार्टीमा नयाँ पुस्तालाई नेतृत्वमा ल्याउनुपर्ने कुरा गर्दै आएको हुँ। तर १४औँ महाधिवेशनमा पुरानै नेतालाई सभापति बन्न दिनु नै अहिले हेर्दा ठूलो गल्ती भएको महसुस गर्छु,’ थापाले भने।

थापाले पार्टीभित्रका सिनियर नेताहरूको प्रभाव कम गर्न नसकेको स्वीकार गर्दै स्थानीय तह निर्वाचनमा गलत निर्णयका कारण पार्टीले ठूलो मूल्य चुकाउनुपरेको उल्लेख गरे। उनले सभापतिलाई सो चुनावअघि नै चेतावनी दिएका थिए कि कुनै एक पालिकामा गलत निर्णय भए त्यसको ठूलो असर पर्न सक्छ, तर त्यो सुझाव बेवास्ता गरिएको बताए।

‘मैले सभापतिलाई भनेको थिएँ, एउटा पालिकामा गलत निर्णय भयो भने त्यसको भारी मूल्य चुकाउनुपर्छ। तर उहाँले वरिष्ठ नेताहरूको भनाइअनुसार निर्णय गर्नुभयो, त्यो पनि मेरो गल्ती भयो,’ उनले स्मरण गरे।

त्यस्तै, २०७९ सालको संघ र प्रदेश निर्वाचनमा बनेको पाँचदलीय गठबन्धनबारे पनि थापाले असन्तुष्टि जनाउँदै त्यसबेला गठबन्धन नगर्न सुझाव दिएको तर आफू पनि त्यसमा सहभागी भएर चुनाव लड्नु गल्ती भएको बताए।

‘माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउन मत दिनु हुँदैन भन्ने मेरो धारणा थियो। कांग्रेसले एमालेसँग मिल्नुपर्ने तर्क गरेको थिएँ, तर त्यो विरोधमा बाहिर आन्दोलन नगर्नु मेरो अर्को गल्ती रह्यो,’ थापाले भने।

उनले अब कांग्रेसले पुराना नेताहरूको छायाबाट बाहिर निस्केर नयाँ नेतृत्व र ऊर्जाशील सोचसहितको रुपान्तरण आवश्यक रहेको बताए।