माधव नेपाल: “कम्युनिस्ट सरकारले धेरै राम्रा काम गरेको छ”


माधव नेपाल: “कम्युनिस्ट सरकारले धेरै राम्रा काम गरेको छ”
  • नवकिरण
  • मंसिर २७, २०८२

सुर्खेत, मंसिर २७ – नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले कम्युनिस्ट नेतृत्वको सरकारले गरेका कामहरूको बचाउ गर्दै राम्रा उपलब्धिहरूको चर्चा गरेका छन्।

शनिबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित एकता सन्देश सभामा उनले आफू र पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा महत्वपूर्ण कामहरू भएको दाबी गरे।

नेता नेपालका अनुसार, मध्यपहाडी राजमार्ग, कर्णाली राजमार्ग, जनता आवास कार्यक्रम, साथै युवालाई रोजगारी उपलब्ध गराउने प्रयासहरू कम्युनिस्ट सरकारले गरेको हो। उनले भने, “म र प्रचण्डजी प्रधानमन्त्री हुँदा राम्रा काम पनि गरेका छौँ, तर केही गरेनन् भन्छन्। यो सत्य होइन। जति गर्न सकिन्थ्यो, त्यो सबै नभए पनि केही नभएको होइन। हामीले शिर निहुराउनुपर्ने अवस्था छैन।”

सम्बोधनमा उनले अबको पार्टी इमानदारहरूको पार्टी बन्ने बताएका छन्। भ्रष्टाचार र स्वार्थी प्रवृत्तिलाई अन्त्य नगरी देशको समृद्धि सम्भव नभएको उनको भनाइ थियो। उनले थपे, “भ्रष्टाचार र स्वार्थी प्रवृत्तिलाई अन्त्य नगरी तथा साझा भावना अघि बढाउन नसके देशलाई अघि बढाउन सकिँदैन। त्यसैले विगतका कमजोरी स्वीकार्दै इमानदार तरिकाले काम गर्ने सोचका साथ पार्टी एकता गरेका हौँ।”