राजनीतिमा अब युवाको युग सुरु हुनुपर्छ : मन्त्री खरेल


राजनीतिमा अब युवाको युग सुरु हुनुपर्छ : मन्त्री खरेल
  • नवकिरण
  • मंसिर २६, २०८२

काठमाडौँ मंसिर २६ – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाली राजनीतिमा अब युवाहरूको प्रभावलाई कसैले रोक्न नसक्ने स्पष्ट टिप्पणी गरेका छन्।

राष्ट्रिय युवा परिषद्ले शुक्रबार आयोजना गरेको ‘सामाजिक जवाफदेहिता : मिडिया र युवा संवाद’ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खरेलले आगामी राजनीतिक संरचनामा युवाको अग्रभूमि भूमिका सुनिश्चित हुनुपर्नेमा जोड दिए।

उनका अनुसार राजनीति नीतिनियमको नेतृत्वकर्ता क्षेत्र भएको हुँदा समावेशिताको दायरामा ३३ प्रतिशत महिला सहभागितासँगै युवाको अनिवार्य उपस्थिति कायम रहनु अपरिहार्य छ। उनले भने, “राजनीतिमा युवाको प्रवेश प्राकृतिक प्रक्रियाजस्तै हो, यो कसैले रोकेर रोकिँदैन।”

मन्त्री खरेलले हालको राजनीतिक संस्कृतिमाथि पनि टिप्पणी गर्दै केही नेताहरू जीवनको अन्तिम क्षणसम्म नेतृत्व पदमै रहिरहने मानसिकता बदलिनुपर्ने बताए। “घाटमा जाने उमेरसम्म पनि आफैँ नेता, आफैँ प्रमुख, आफैँ अध्यक्ष, आफैँ प्रधानमन्त्री बन्ने प्रवृत्ति अब अन्त्य हुनुपर्छ,” उनले भने।

उनले स्वस्थ राजनीतिक संक्रमण, नयाँ सोच र युवाशक्तिले निरन्तरता पाउन सकेमा मुलुकले अपेक्षा गरेको परिवर्तन छिटै देखिन सक्ने विश्वास व्यक्त गरे।